सकसका ५६ दिन (Nepali)

२०७४-२०७४ असार ४ गते । चितवन गीतानगरस्थित घरबाट बुबाले एकै सासमा यति कुरा भन्नुभयो, ‘लौन के गर्ने ? त त्यहाँ छस् । के कसो गर्नुपर्ने हो तुरुन्तै बुझिहाल । सकेसम्म छिटो गर्नुपर्‍यो ।’

यति हतारिएको र मलिनो स्वरमा बुवा हत्तपत्ती बोल्नुहुँदैनथ्यो । उहाँको स्वर अक्सर गर्विलो हुने गथ्र्यो । फोन राख्नेबित्तिकै म सलङ भएँ । नसामा रगत हैन पानी बगेजस्तै भयो ।

मैले सबैभन्दा पहिले धनवीर ठूलाबालाई सम्झें । छिमेकी र बाको समवयी भएकैले उहाँलाई ठूलाबा सम्बोधन गर्थें । ठूलाबाको शालीन र मायालु स्वरले मात्रै हैन, सधैं केही न केही नयाँ गरिराख्ने र नथाक्ने स्वभावले मलाई सधैं आकर्षित गरिराख्यो । त्यति असल मान्छेको जीवनको उत्तराद्र्धमा यति ठूलो शोक पर्नु सामान्य कुरा थिएन । मनमनै सोचें, भगवान् छन् भने तिनी निर्दयी रहेछन् । तिनले पाप र धर्मको ख्याल गर्न पटक्कै जान्दा रहेनछन् ।

उहाँका एक मात्र छोरा थिए, सुरज । आम तन्नेरीझंै उनी कमाउने सुरमा एकपटक कतार पसे । केही समयमै सोचेजस्तो नभएर फर्के । एकपटक दलालको पासोमा परेर रूस पुगे र फर्के । साढे दुई वर्षअघिसम्म उनले टेम्पो किनेर चलाइरहेका थिए । चालक भिसामा साउदी पसेका सुरजको पछिल्लो खबरमा शोक मिसिएको थियो ।

अल्लाह जानुन्, मृत्यु कसरी भयो ? मृत्युअघि सुरज दाइ के गर्दै थिए ? मृत्युले उनलाई कसरी निल्यो ? खबर यत्ति थियो, कम्पनीको नयाँ फिलिपिनो चालकलाई बाटो देखाउन दाइ सँगै गएका थिए रे । बाटोमा गाडी दुर्घटनाग्रस्त भयो र यो सब भयो रे । मृत्युको खबर सत्य थियो, त्यसबाहेकको सत्य थाहा पाउने बुता हामी कसैको थिएन ।

छटपटिएको मन लिएर हतारिँदै परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा पुगें । महानिर्देशक गेहेन्द्र राजभण्डारीसामु सबै कुरा पोखें । गेहेन्द्रले कर्मचारीलाई अह्राए, शव जतिसक्दो छिटो ल्याउन प्रक्रिया थालिहाल्नुस् । एकै छिनको बसाइमा हामीबीच यस्ता संवाद भए : कति दिन लाग्ला सर ?

‘भन्नै सकिन्न हेर्नुस् न । साउदीबाट शव ल्याउन गाह्रो छ ।’

अनुमानित केही ?

‘त्यही औसतमा ४५ दिन लागेको छ । कहिलेकाहीं एकाध दिन छिटो पनि हुन्छ ।’

छिटो गर्ने केही उपाय छैन है ?

‘सारै निरीह छौं हामी यसबारेमा । सबैले यस्तै प्रश्न सोध्नुहुन्छ । मसँग उत्तर नै हुँदैन ।’

मैले प्रक्रिया सुरु भएको खबर पठाएँ । त्यसपछिका प्रत्येक दिन सबैभन्दा नीरस, उच्चाटलाग्दो र छटपटीले भरिएका थिए । औंलामा नअट्ने दिनहरूको गन्ती सुरु भयो । ठूलाबा, स्थानीय गाउँले अगुवा, वडाअध्यक्ष, मृतकका नातेदार र अन्य आफन्त सबैले प्रत्येक दिनजसो फोन गर्थे र यस्ता प्रश्न सोध्थे ?

‘केही टुंगो लाग्यो ?’

‘कसैको फोर्स लाएर हुन्न ?’ ‘नेता, मन्त्रीलाई भनेर हुन्छ भने पनि भनम् ।’

‘हत्तेरी ? सारै ढिला भयो त ? केही उपाय छैन भन्या ?’

म हारेको स्वरमा भन्थें, ‘हुँदै छ । होला नि त । हुनु त पर्ने हो । खै, सबैतिरबाट कुरा पुर्‍याइराख्याछु ।’

लामो समय कतार बसेर फर्केका सहकर्मी होम कार्कीले साउदी अरबको जेद्धास्थित नेपाली वाणिज्य नियोगका प्रमुख रेवतीरमण पौडेललाई सम्पर्क गरे । अर्का सहकर्मी चन्द्रशेखर अधिकारीले परराष्ट्र मन्त्रालयमा बुझबुझारथ थाले ।

दिन चिप्लेकीराको गतिमा घिस्रिएको थियो । मृत्युको समयमा मुस्लिमहरूको चाड ईद चलिरहेको थियो । साउदी अरबका सबै सरकारी कार्यालय बन्द थिए । नियोगका प्रमुख पौडेलले खबर पठाएका थिए, ईदपछि बल्ल सरकारी कार्यालय खुल्छन् । त्यसपछि प्रक्रिया थाल्छौं । चाड छउन्जेल केही उपाय छैन । चाड सकिन कम्तीमा १५ दिन लाग्नेवाला थियो । त्यतिका दिनसम्म मृतकका बा, आमा, पत्नी र छोरा–छोरीले कसरी आफूलाई सम्हाल्लान् ? मैले केही सोच्नै सकिनँ । मैले अल्लाह पुकारें । प्रत्येक दिन बिराएर बुवा सोध्नुहुन्थ्यो ? केही टुंगो लाग्यो त ? मैले लत्रेको स्वरमा भन्थें, ‘अहँ’ ।

१५ दिन कटेपछि फेरि दौडादौड सुरु भयो । गाउँबाट तारन्तार फोन आउन थाल्यो । सहकर्मी होमले दिन बिराएर जेद्धास्थित नियोगमा फोन घुमाउन थाले । मैले महानिर्देशक राजभण्डारीलाई ताकेता लाउन थालें । अक्सर उत्तरहरू यस्ता हुन्थे– हुँदै छ, गर्दैछम्, प्रयास भइरहेको छ, केही दिनमा कसो टुंगो नलाग्ला, नआत्तिनुस् न, हाम्रो मात्रै बुतामा छैन । गाउँबाट आउने प्रत्येक फोनको जवाफ म उसै गरी दिन्थें– भनेको भन्यै छु, केही दिनमा कसो नहोला, नआत्तिनुस् न ।

ती दिनहरूमा मैले ती परिवारलाई सम्झें, जसको कुनै पहुँच छैन, भनिदिने र बोलिदिने मान्छे छैन । जसको स्वर कसैले सुन्दैन । तिनका मान्छे यसैगरी परदेशमा मरे भने के हाल हुन्छ होला ?

दिनहरू बडो लवस्तरो भइरहेका थिए । न दूतावासबाट यकिन जानकारी आएको थियो न कन्सुलर विभागबाटै । सबै भगवान् भरोसामा चलेको थियो । साथीहरूले प्रक्रिया सुरु भइरहेको खबर त ल्याउँथे तर त्यसमा पनि यकिन सूचना हुँदैनथ्यो । परिवारलाई सही सूचना दिन सके धैर्यधारण गराउन सकिन्थ्यो । तर त्यस्तो कहाँ हुँदो रहेछ र ?

मृतक कार्यरत कम्पनी बिन सदिक ब्लक फ्याक्ट्रीका नेपाली कामदारहरू पनि परिवारजनको सम्पर्कमा थिए । कम्पनीको तल्लो तहमा काम गर्ने कामदारसँग के नै सूचना हुन्छ र ? तैपनि उनीहरू सुनेका अपुरा कुरा परिवारलाई सुनाउँथे । त्यस्ता सूचना न भरपर्दा हुन्थे न आधिकारिक नै । त्यसलेपरिवारलाई झनै दोधारमा पाथ्र्यो ।

मनमनै सोच्थें, कामदारको शव समयमै ल्याउन नसक्ने कस्तो निरीह देश होला मेरो ? जबकि देशको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा झन्डै ३२ प्रतिशत रेमिट्यान्सको योगदान छ । त्यही देशमा कामदार मरेपछि पनि सुख पाउँदैनन् । धनवीर ठूलाबा फोनमा भन्नुहुन्थ्यो, ‘लौन बाबु, मर्ने त मरिगयो । समयमै ल्याउन मात्रै पाए नि जाती हुन्थ्यो ?’

यही बीचमा म पानस साउथ एसिया नामक संस्थाको फेलोको हैसियतमा काठमाडौंमा भइरहेको ‘रिजनल प्रोजेक्ट अन साउन एसियन इनिसियटिभ अन माइग्रेन्ट लेबर’ को कार्यशालामा थिएँ । त्यहाँ सहभागी विभिन्न देशका प्रतिनिधिलाई मैले एउटै प्रश्न गरें, तिमीहरूको देशका कामदार साउदी अरबमा मरे भने कति दिनमा शव आउँछ हँ ?

पाकिस्तानको दुनिया न्युज टेलिभिजनका पत्रकार इमरान अतहरले भने, ‘हप्ता दिनमा ।’ वैदेशिक श्रमको विषयमा काम गरिरहेका श्रीलंकाका अमन्था परेराले भने, ‘दसदेखि १५ दिनमा’ । बंगलादेशका पत्रकार मोर्साद अली खानले भने, ‘हाम्रो सरकार अलिक कमजोर छ । दुई/तीन महिना लाग्छ । भारतीय पत्रकार रेजिमोन कुटप्पानले भने ‘सरकारी संयन्त्र बलियो छ । हप्ता दिनमा आइपुग्छ ।’

सबैका कुरा सुनेपछि झनै भाउन्न छुट्यो । चुनावका बेला कति ठूला कुरा गर्छन् हाम्रा नेताहरू । तर आफ्नै नागरिकको शव समयमा ल्याउने विषयमा उनीहरू गम्भीर बन्दैनन् । के उनीहरूलाई थाहा छैन, प्रत्येक दिन औसतमा तीन नेपाली कफिनमा सुतेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँछन् भनेर ।

दिनहरू बितिरहेका थिए । म बारम्बार धनवीर ठूलाबालाई सम्झिन्थें । बीस वर्षअघि सिंगो चार गाउँमा उहाँ मात्रै साइकल बनाउने कुशल मिस्त्री हुनुहुन्थ्यो । त्यसैले उहाँलाई धेरैले ‘साइकलवाले’ भन्थे । म रोएर झगडा गरेका बेला बुवाले मलाई उहाँकै छेउमा लगेर छोडिदिनुहुनथ्यो । ठूलाबाले मलाई साइकलका स–साना फलामे गेडी दिनहुन्थ्यो । म त्यही खेलाएर खुसी भएर बस्थें । तर यतिखेर खुसी कतै बादलमुनि लुकेको थियो ।

छटपटिँदै महिना बित्यो । शव पठाउन आवश्यक कागजी प्रक्रिया कम्पनीले नै गर्नुपर्ने र यस्ता काम कम्पनीको प्राथमिकतामा नर्पने भएकैले ढिलाइ भइरहेको खबर दूतावासबाट आउँथ्यो । हप्तौंपछि एक दिन खबर आयो, कम्पनीका मान्छे दूतावासमा सम्पर्कमा आए । त्यसको केही दिनपछि खबर आयो, एउटा कागज बन्यो रे ।

पुलिस रिपोर्ट, श्रम मन्त्रालयको रिपोर्ट, बिमा क्लियरेन्स, अस्पतालको रिपोर्टजस्ता कागजात संकलनमा कम्पनीले लामो समय खर्चिंदो रहेछ । जसमा न दूतावासले बारम्बार ताकेता गर्न सक्दो रहेछ न कुनै कूटनीतिक पहल नै ? धेरै ताकेता र खरो कुरा गरे कम्पनी रिसाउला र प्रक्रिया झनै ढिलो गर्देला भन्ने डर पनि उत्तिकै हुँदो रहेछ । जबकि शोकमा यस्ता कुराको कुनै अर्थ थिएन । परिवारले चाहेको केही थिएन । शव छिटो आओस् । बस यत्ति न हो ।

४० दिन बित्दा पनि खास खबर आएन । सहकर्मी चन्द्रशेखरले परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेललाई गुहारे । तर टुंगोको कुरा केही आएन ।

एक दिन साथीहरूले खबर ल्याए, कम्पनी भोलि नै सबै कागजात लिएर दूतावास जाँदै छ रे । अब एक सातामा त शव पक्का आउँछ । मैले यही खबर ठूलाबालाई सुनाएँ । भोलिपल्टै साँझ उहाँले फोनमा सोध्नुभयो, ‘कम्पनीको मान्छे आएछन् त ? ठ्याक्कै कहिले आउने भो त ?’

यी प्रश्नका उत्तर खोज्न मैले फेरि सहकर्मी होमलाई गुहारें । उनले खबर ल्याए, ‘कम्पनीका मान्छे दूतावास आउँदै गर्दा बालुवासहितको आधीबेहरीजस्तो हुरी चलेर उनीहरू बीचबाटै फर्के रे ।’ त्यो बिहीबारको दिन थियो । साउदीमा शुक्रबार र शनिबार सरकारी बिदाको नियम थियो । अब मेरो मनमा आधीबेहेरी चल्यो । मैले ठूलाबालाई रुझेको स्वरमा सबै कुरा सुनाएँ । उहाँले लामो खुइया काढ्नुभयो ।

आइतबार त केही होला भन्ने भयो । खबर बुझ्ने काम फेरि सुरु भयो । कम्पनीले सबै कागजात बुझाएको र एक साताभित्रै शव आउने खबर आयो । मैले त्यही कुरा के–के नै भएझैं गरेर ठूलाबालाई सुनाएँ । उहाँले सन्तोकको सास फेरेजस्तो गर्नुभयो ।

तर हप्ता दिन बित्नै आँट्यो । कुन विमान र कति बजेको उडानबाट शव आउने हो खबर केही आएन । बुझ्दै जाँदा थाहा लाग्यो, कम्पनीले पेस गरेको एउटा कागजात अरबी भाषामा भएकाले समस्या आएछ । त्यसलाई सल्टाउन केही दिनको दौडधुप लाग्ने भयो । यति भएपछि पनि शव आउने दिनको टुंगो लागेन । ठूलाबा प्रत्येक दिन शोक र छटपटीले कमजोर बन्दै जानुभएको थियो । ठूलीआमा, मृतककी श्रीमती र छोराछोरीको हालत शब्दमा बयान गर्न सकिँदैनथ्यो ।

यही बीचमा म घर गएँ । ठूलाबालाई भेटें । उहाँको अनुहारमा उदासीको गाढा रंग टाक्सिएको थियो । मसिनो स्वरमा भन्नुभयो, ‘जे भैगो, भैगो । शव मात्रै छिटो ल्याउन पाए आत्माले शान्ति पाउँथ्यो ।’ जवाफमा म केही बोलिनँ ।

भोलिपल्ट बिहानै ठूलाबा मेरो घरमा आउनुभयो । दु:खका लम्मेतान कुरा गर्नुभएन । किनकि शब्दहरू सबै शोकले किचिएका थिए । मृत्युको घटनाभन्दा पहिल्यै ठूलाबाले एक लाखभन्दा धेरै खर्चेर घर नजिकैको शिवालय मन्दिरमा मृतक बाआमाको नाममा फलामे गेट हाल्न चन्दा दिनुभएको रहेछ । गेट तयार हुनै आँटेको रहेछ । बुवासँग लामो कुराकानीपछि उहाँहरूले निष्कर्ष निकाल्नुभयो, उक्त गेटमा अब मृतक बाआमाको मात्रै नाम नलेख्ने । छोराको पनि नाम लेख्ने । ठूलाबाले गढेको स्वरमा मतिर हेरेर भन्नुभयो, ‘मान्छेको चोला के रैछ र । मन्दिरमा गेट भए सबैलाई राम्रो हुन्छ । सबैले सम्झेलान् ।’ उहाँको उदार चित्त देखेर म नतमस्तक भएँ ।

काठमाडौं फर्केको केही दिनसम्म पनि शव आउनेबारे केही टुंगो लागेन । औडाहका यिनै दिनमा अनेकन अपुष्ट खबर आउने क्रम झनै चर्को भयो । ठूलाबाले सुन्नुभएको रहेछ, कफिन अर्डर गर्न समय लाग्छ रे ? दूतावासले कार्गोको सस्तो टिकट खोज्छ रे, त्यही भएर ढिलो भएको रे । उहाँले यस्तै कुरा सुनाएर भन्नुभयो, ‘बरु दूतावासमा भन्देऊ बाबु, कति पैसा लाग्छ, म यताबाटै पठाइदिन्छु । मान्छे त मर्‍यो नै, धनको के कुरा ?’ मैले सम्झाइ–बुझाइ गरे । सुनेजस्तो कुरा नहुने बताउँदै सान्त्वना दिएजस्तो गरें ।

अन्तत: खबर आयो, ५३ औं दिनमा । मृत्युको ५६ औं दिन अर्थात् २९ साउनमा इत्तेआद एअरलाइन्सबाट राति साढे आठ बजे शव आउँदै छ । मैले हतारिंदै यही खबर परिवारजनलाई सुनाएँ । सबैले सन्तोकको सास फेरे । तर भोलिपल्टै विमान कम्पनीबाट फोन आयो, ३० साउनको राति मात्रै शव आउने भयो । एकै दिन ढिलो त हो । कम्तीमा पक्का त भयो भनेर सबैले मन बुझाए ।

मुग्लिन–नारायणगढ सडक दुर्दशा के भनिसाध्थे । शववाहनलाई कसरी चितवन पुर्‍याउने ? सबैको चिन्ता त्यही थियो । आफन्तजन चितवनबाट हेटौंडा हुँदै काठमाडौं आए । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले शववाहन दियो । राति आठ बजे विमानस्थल पुग्दा वैदेशिक रोजगारीमा जाने तन्नेरीको लस्कर थियो । मनमनै सोचे, धत, यस्तो कसैलाई नहोस् !

सुटकेस घिसार्ने दुई ट्रलीमा ढलपल–ढलपल पार्दै यात्रुहरू निस्कने गेटबाट कफिन बाहिर निकाल्दा दस बजिसकेको थियो । सन्तुलन मिलाउन नसकेका बेला कफिन कहीले दायाँ ढल्किन्थ्यो कहिले बायाँ । कतिपय बेला कफिनको एक छेउले विदेशबाट चिटिक्कको सुटकेस लतार्दै निस्केका यात्रुका शरीरमा छुन्थ्यो । ती मान्छे हठात तर्केजस्तो गर्थे । बाहिर सिमसिम पानी परिरहेको थियो । यस्तो लाग्यो, सुरज दाइको मृत्युमा आकाश रोएको हो ।

(Originally published in the Kantipur daily, Nepal.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *