निर्बाध मानव तस्करी (Nepali)

By
No comments

पछिल्ला चार महिनामा मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मानव तस्करीको चंगुलमा परेका ८१ महिलालाई भारत र अन्य विभिन्न देशबाट उद्धार गर्‍यो । तर मानव तस्करीमा संलग्न एजेन्टको न पहिचान हुन सक्यो न कोही पक्राउ नै परे । यसको कारण एउटै थियो, उद्धार गरिएका कसैले पनि किटानी जाहेरी नगर्नु ।

मानव तस्करीको चंगुलमा परेर भारतका विभिन्न सहरमा अलपत्र पारिएका नेपाली महिलाका बारेमा दु:खपूर्ण खबर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आइपुग्छ । विभिन्न सूत्र र सम्पर्कमार्फत आउने त्यस्ता सूचना प्रमाणित भएपछि ब्युरोको पहिलो काम हुन्छ, त्यस्ता महिलालाई उद्धार गरेर नेपाल ल्याउने । तर उद्धार गरिएकाहरूले कसैविरुद्ध जाहेरी दरखास्त नदिँदा प्रहरीको अनुसन्धान कुनै निष्कर्षबिना नै टुंगिन्छ । 

२१ वैशाखमा ब्युरोले दुबई अध्यागमनद्वारा फिर्ता गरिएका ४४ महिलाको उद्धार गर्‍यो । नेपालका विभिन्न नाकाबाट भारतको दिल्ली पुगेका उनीहरू कुवेतमा घरेलु कामदारका लागि जाने भन्दै दुबई पुगेका थिए ।

घटनापछि ब्युरोले निष्कर्ष निकाल्यो, मानव तस्करीको चंगलुमा परेर त्यति धेरै महिला अवैध बाटोबाट कुवेत पुर्‍याउन खोजिएको थियो । महिलाको उद्धार त भयो, तर नेपाल फर्केका कुनै पनि पीडितले आफूलाई त्यहाँ पुर्‍याउने एजेन्टविरुद्ध जाहेरी दरखास्त दिएनन् । एक लाखदेखि डेढ लाख रुपियाँसम्म दलाललाई बुझाएका र बीच बाटोबाटै फर्किनुपरे पनि उनीहरूले न कुनै एजेन्टको नाम पोले, न उजुरी नै दिए ।

फलत: ब्युरोले मानव तस्करीको यति ठूलो घटनामाथि अनुसन्धान अघि बढाउन सकेन । अभियुक्त पनि पक्राउ परेनन् । मानव तस्करीमा परेर समस्या खेपिरहेकालाई उद्धार गरेर ल्याउने तर अनुसन्धानको प्रक्रिया अघि नबढने घटना ब्युरोका लागि नयाँ होइन । जेठ २ मा ब्युरोले भारतको नयाँदिल्लीस्थित नेपाली दूतावास र भारतीय प्रहरीको क्राइम ब्रान्चको सहयोगमा भारत ओम विहारबाट २४ नेपाली महिलाको उद्धार गर्‍यो । मानव तस्करको सेटिङमा नयाँदिल्लीबाट ती महिलालाई घरेलु कामदारमा काम लगाउने गरी कुवेत लैजाने तयारी थालिएको थियो ।

नेपालबाट दिल्ली पुर्‍याएको महिनौंसम्म पनि दलालले झुलाएर राखिरहेको अवस्थामा ती महिलाको उद्धार भयो । तर यो घटनामा पनि उद्धार गरिएका कुनै पनि महिलाले दलालविरुद्ध जाहेरी दरखास्त दिएनन् । जाहेरी अभावमा ब्युरोले अनुसन्धान अगाडि बढाउन सकेन ।

कुवेतलगायतका देशमा आकर्षक रोजगारीको प्रलोभन देखाई भारतको नयाँदिल्ली पुर्‍याइएका ५ महिलालाई ब्युरोले साउन १६ गते माइती इन्डियाको सहयोगमा उद्धार गरी नेपाल ल्यायो । यो घटनामा पनि पुरानै प्रवृत्ति दोहोरियो । उद्धार गरिएका कसैले पनि आफूलाई अवैध बाटोबाट विदेश पठाउन खोज्ने एजेन्टविरुद्ध उजुरी हालेनन् । आन्तरिक द्वन्द्वमा फसेको सिरिया नेपाली कामदारका लागि प्रतिबन्धित छ । तर मानव तस्करहरूले सिरियामा कामदारको माग पूरा गर्न नेपाली महिलालाई पुर्‍याउने सेटिङ मिलाएका थिए ।

यसैअन्तर्गत भारत हुँदै दुबईबाट सिरिया पुर्‍याउन लागिएका ११ महिलालाई ब्युरोले साउन २७ मा उद्धार गर्‍यो । तर अनौठो त के भने, नेपाल फर्केपछि दुई जना मात्रै ब्युरोको सम्पर्कमा आए । तर ती दुवैले कसैका विरुद्ध पनि किटानी जाहेरी दिएनन्, न आफू बेचिन आँटेको घटनामाथि अनुसन्धान गर्न नै ब्युरोलाई सघाए ।

साउन १६ मा भारतबाट उद्धार गरिएकामा झापा घर भएकी दुई सन्तानकी २४ वर्षीया आमा पनि थिइन् । श्रीमान्ले सधैं रक्सी पिएर कुटपिट गरेपछि वाक्क भएर उनी दलालको फेरो समातेर कुवेत जाने सपनामा भारत पुगेकी थिइन् । उद्धारपछि ती महिलाले मानव तस्करीमा संलग्न दलालविरुद्ध जाहेरी दरखास्त त दिइनन् नै, बरु आफ्नो विदेश सपनालाई ब्युरोले बिगारिदिएको भन्दै आक्रोशित भइन् । ब्युरोकी प्रवक्ता मीरा चौधरीका अनुसार वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करीको चंगुलबाट उद्धार गरिएका निकै कमै मात्र महिलाले तस्करविरुद्ध जाहेरी दरखास्त दिन्छन् । चौधरीको अनुभवमा किटानी जाहेरीको अभावमा मानव तस्करीको धन्दा निर्वाध चलिरहेको छ ।

उद्धार गरिएका धेरैजसो महिला आफन्त वा चिनेजानेकै मान्छेकै भरमा दलालको सम्र्पकमा पुगेका देखिन्छन् । विदेशी भूमिमा अलपत्र परेर उद्धार गरिएपछि पनि उनीहरू कुनै न कुनै देश जसरी भए पनि पुगिछाड्ने अठोटमा देखिन्छन् । प्रवक्ता चौधरीको अनुभवमा, घरायसी हिंसा वा आर्थिक संकटबाट गुज्रेका महिलाहरू दलालले देखाउने सपनामा यसरी बेरिएका हुन्छन् कि उनीहरू दलालविरुद्ध उजुरी गर्ने हिम्मत नै गर्दैनन् । चौधरीले भनिन्, ‘पीडितको उजुरी अभावमा वा पीडितहरू नै सम्पर्कविहीन भइदिँदा मानव तस्करमाथि कारबाही चलाउन समस्या भइरहेको छ ।’

(Originally published in the Kantipur, Nepal.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *